कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न

छिनोफानो   बिहिबार ०५, असार २०८२ ०८:४१

 धनगढी । बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको कैलाली कारागार चलान भएको भोलिपल्टै मृत्यु भएपछि प्रहरी र जेल प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ ।

बैंकिङ कसुर मुद्दा दिने नेपाल प्रहरीका सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हुनु, घटनास्थलको सीसीटीभी फुटेज नहुनु र मृतकको शरीरभरी कुटपिट गरिएको जस्तो देखिनुले मृतकका परिवारले प्रहरीमाथि नै प्रश्न उठाएका हुन् ।

असार २ गते कारागारभित्रै अचेत अवस्थामा फेला परेका पालीको सोही दिन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारले भने योजनाबद्ध हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।

घटना के थियो ?

जिल्ला अदालत कैलालीले डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीलाई बैंकिङ कसुर मुद्दामा २०८० सालको फागुनमा दोषी ठहर गर्दै १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथले बैंकिङ कसुर मुद्दा दिएका थिए । मुद्दाको फैसला भएदेखि नै फरार रहेका पालीलाई २९ जेठमा डडेल्धुरा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई कैलाली प्रहरीकै एक टोलीले निजी गाडीमा राखेर कैलाली सदरमुकाम धनगढी ल्याएको थियो । धनगढी ल्याइपुर्‍याउँदा अदालत बन्द भइसकेकाले त्यस दिन जिल्ला प्रहरी कार्यालयले पालीलाई अदालतमा पेस गर्न पाएन । ३१ गते शनिबारको सार्वजनिक बिदा भएकाले पनि अदालतमा पेस गरिएन । त्यसैले ३० र ३१ गते राति जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षमा राखिएका पालीलाई प्रहरीले १ असारमा अदालत पेश गरेको थियो ।

अदालतले पुरानो फैसलाअनुसार उनलाई असार १ गते नै जिल्ला कारागार चलान गरेको थियो । कैद भुक्तानका लागि अदालत चलान भएको भोलिपल्ट भने उनको मृत्यु भयो ।

कैलाली कारागारका जेलर बसन्त बहादुर खत्रीकाअनुसार राति साढे १० बजेतिर बाथरुम नजिकै अचेत अवस्थामा पाली भेटिएका थिए । उनको स्वास्थ्य परीक्षण गर्दा १०४.९ डिग्री ज्वरो र ६०/४० प्रेसर देखिएपछि तत्कालै जिल्ला प्रहरी कार्यालयको भ्यान मगाएर उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको जेलर खत्रीले बताए । तर राति १२ बजे भने चिकित्सकले पालीको मृत्यु भएको घोषणा गरेका थिए ।

सामान्य अवस्थामा जिम्मा लगाएको थियो डडेलधुरा प्रहरीले

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा २९ जेठमा पक्राउ गरिएका पालीको अन्य स्वास्थ्य अवस्था भने सामान्य थियो । डडेल्धुरा प्रहरीले सामान्य अवस्थामै पालीलाई कैलाली प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

कैलाली प्रहरीले हिरासतमा राख्नुअघि गरेको स्वास्थ्य परीक्षणमा समेत उनको अवस्था समान्य भएको बताएको छ । तर कारागार चलान भएको भोलिपल्टको राति अचेत अवस्थामा भेटिएका पालीको राति नै मृत्यु भएपछि प्रहरी र कारागार प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ ।l online khabar

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु