नेपालमा सामुदायिक रेडियोको महत्त्व कम नभएको तर नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्।
सामुदायिक रेडियोको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २५ औँ वर्ष प्रवेशको अवसरमा सङ्घको सभाकक्ष ललितपुरमा शनिबार आयोजित अन्तरक्रियामा सहभागीले रेडियो आवाजको क्षेत्र भएकाले कुनै पनि हालतमा यसको महत्त्व नघट्ने बताएका हुन्।
कार्यक्रममा बीबीसीमा कार्यरत पत्रकार नवीनसिंह खड्काले रेडियो माध्यमका रूपमा बलियो सम्भावना भए पनि यसले दिने सामग्रीका आधारमा स्रोताले सुन्ने वा नसुन्ने निर्क्यौले गर्ने धारणा राख्नुभयो। उहाँले रेडियोले उत्पादन गर्ने सामग्री परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
बीबीसी मिडिया एक्सनका सम्पादक किरण भण्डारीले सामुदायिक रेडियोलाई आर्थिक रूपमा बलियो बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो।
गैरसरकारी संस्था महासङ्घका कोषाध्यक्ष तथा रेडियो कर्णाली जुम्लाका गोविन्द शाहीले विकट क्षेत्रमा अझ धेरै रेडियोको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्दै सरकारी तथा गैरसरकारी निकायले सामुदायिक रेडियोको दिगोपनाका लागि सहकार्यको हात फराकिलो बनाउनुपर्ने बताउनुभयो।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले संविधान कार्यान्वयनको सवालमा पनि गैरसरकारी निकाय र रेडियोबीच सहकार्य भइरहेको उल्लेख गर्दै स्रोताको माग र आवश्यकतालाई बेवास्ता गर्न नहुने बताउनुभयो।
रेडियोले आफ्ना सामग्रीलाई समय, परिस्थिति अनुसार परिमार्जन गर्नु आवश्यक भएको उहाँको भनाइ छ। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व सचिव सुदर्शन खतिवडाले रेडियो सुन्नका लागि भएकाले यसको विकल्पमा अरु माध्यमले विस्थापन गर्न नसक्ने उल्लेख गर्दै सामुदायिक रेडियोको सामग्रीका बारेमा निर्मम भएर समीक्षा गर्नु आवश्यक रहेको औँल्याउनुभयो।
प्रतिकृया दिनुहोस