काठमाण्डाै – सरकारले देशको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित पर्सि सोमवार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ ।
उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजनामाथि पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिने उहाँको भनाइ छ ।
प्रतिकृया दिनुहोस